बहराइनमा थप ८८ नेपालीमा कोरोना, संक्रमित नेपालीको संख्या २४५

काठमाडौं,  रोजगारीका क्रममा बहराइनमा रहेका थप ८८ नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै बहराइनमा कोरोना संक्रमित नेपालीहरूको संख्या २४५ पुगेको छ । गत बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । बहराइनस्थित नेपाली दूतावासका अनुसार त्यसअघि एकै पटक ७७ जना नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।

बहराइनमा हालसम्म एक हजार ९५० जना संक्रमित उपचारमा छन् भने एक हजार ७६२ जना डिस्चार्ज भएका छन् । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भएका छन् भन्ने खुलेको छैन । कोरोनाबाट बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूतवासले चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएको छ ।

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् । अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।