ओली बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं, प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली सचिवालय बैठकबाट बाहिरिएपछि नेकपा स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । बैठकका लागि एजेन्डा तय गर्न बोलाइएको सचिवालय बैठकमा नेताहरु बीच सहमति नजुटेपछि बैठक अनिश्चित बनेको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी समिति बैठकको एजेन्डाबारे दुई अध्यक्षबीच अझै छलफल बाँकी रहेको जानकारी दिए । नेता श्रेष्ठले स्वास्थ्य र व्यस्तताका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा पूरा समय उपस्थित नभएकोले आजको बैठकमा विस्तृत छलफल हुन नसकेको पनि बताए ।

तर, स्रोत भन्छ, ‘एजेन्डाको विषयमा विवाद भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बैठकबाट रिसाएर बाहिरिएका थिए ।’ करिब एक घण्टापछि बैठकमा प्रम ओली फर्किए लगत्तै आजको बैठक सकिएको थियो ।

वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । सोही अनुसार वैशाख २५ गते बिहीबार ११ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बैठक बस्ने समय तय गरिएको थियो । सोही बैठकका लागि आज सचिवालयले एजेन्डा तय गर्ने कार्यतालिका रहेको थियो ।