निको भइसकेका तीन जनामा फेरि दोहोरियो कोरोना
काठमाडौं, उपचारपछि निको भएर घर फर्किएका तीन जनामा फेरि कोरोना भाइरस संक्रमण दोहोरिएको छ । काठमाण्डौ, वीरगञ्ज र रौतहटका एक–एक जनामा फेरि कोरोनाको संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगञ्जमा उपचारपछि निको भएकामा फेरि संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।
यस्तै काठमाडौ जडिबुटीस्थित सनसिटी अपार्टमेन्टमा यसअघि संक्रमण देखिएर उपचारपछि निको भएका ५८ वयाीृय पुरुषलाई फेरि कोरोना संक्रमण देखिएको छ । उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको डा. देवकोटाले जानकारी दिएका छन् । गएको चैत ५ गते बेलायतबाट फर्केका ती पुरुष र उनकी आमामा संक्रमण देखिएपछि पाटन अस्पतालमा नै उपचार गराइएको थियो । त्यस्तै भारतबाट फर्केका रौतहटका एक युवकमा पनि संक्रमण दोहोरिएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ रहेको छ । हिजो (मंगलबार) नेपालगञ्जका सात जनामा कोरोना संक्रमण देखिएसँगै देशभर संक्रमितको संख्या ८२ पुगेको हो । हालसम्म १६ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् । हालसम्म कर्णाली प्रदेशमा मात्र कोही पनि कोरोना संक्रमित भेटिएका छैनन् ।
‘खोप र औषधि पत्ता लगाउन सहज’ हुने
नेपालमा कोरोना (कोभिड–१९) भाइरसको अणुवांशिक (जिन) को अध्ययन हुने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जिनसँग सम्बन्धित विभिन्न वैज्ञानिकसँग छलफल समेत गरेको छ ।
कोभिड–१९ का विभिन्न जिन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जिन हो भन्ने पत्ता लगाइने छ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा आएको जिन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न थालिएको जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ का कारण अरू देशमा महामारी फैलिएको र बिरामीको ज्यान जाने अवस्था आएको तर नेपालमा भने सङ्क्रमितको अवस्था सामान्य रहेकाले जिनको अनुसन्धान गर्न थालिएको हो ।
अध्ययनका लागि नेपालमा रहेका भाइरोलोजीमा काम गरिरहेका जिन विज्ञ, संस्था र विदेशमा रहेका वैज्ञानिकसँग छलफल गरिएको छ । अहिलेसम्मको अध्ययनले नेपालमा कोभिड–१९ को लक्षणविना नै सङ्क्रमण देखिएको छ । कुन चाहिँ जिनले मानिसमा संक्रमण भइरहेको छ अध्ययनपछि पुष्टि हुने उनले बताए ।
परिषद्ले संक्रमितहरूकै स्वाब र रगतबाट जिनको प्रकार पत्ता लगाउने छ । अध्ययनबाट नेपालमा अमेरिका, चीन, भारत र अन्य देशमा रहेको जिन छ वा छैन भनेर पनि पत्ता लगाइने कोभिड–१९ सम्बन्धित प्रयोगशाला सल्लाहकार समितिका सदस्य समेत रहेका खनालले जानकारी दिए । उनका अनुसार संक्रमित सबै जनाको स्वाब सङ्कलन गरी जिन कुन प्रकारको रहेको भन्ने पत्ता लगाइने छ ।
उनले जिनको अध्ययन गरेर नेपालमा रहेको जिनको तहगत वर्गीकरण गरिने समेत बताए । जिन पत्ता लगाएपछि कोभिड–१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने उनको भनाइ रहेको छ ।