दाङमा चट्याङ लागेर एक घरमा आगलागी

दाङ, दाङमा चट्याङ र बर्षाले गर्दा दुई घरमा क्षति पुर्याएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुर निवासी ३८ बर्षीय दोर्ण घर्तीको घरमा मंगलबार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चट्याङ परि घरमा आगलागी भएपछि घरभित्र रहेका सबै मानिश बाहिर निस्किएकाले मानबिय क्षति नभएपनि घर पूर्ण रुपले जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार प्रहरी, जनप्रतिनिधि तथा स्थानीयको सक्रियतामा साढे १२ बजे तिर आगलागी नियन्त्रणमा लिइएको हो ।

आगलागीबाट घर भित्र रहेका लत्ताकपडा, सामग्री, खानेकुरा जल्दा करिब चारलाख रुपैँया बराबरको क्षति प्रहरीले बताएको छ । यस्तै दाङमा भारी बर्षाले गर्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ अस्वारा स्थित मोहन बिकको घर भत्किएको छ ।

मंगलबार हावाहुरीसंगै परेको बर्षाले घर भत्किएको प्रहरीले बताएको छ । घर भत्किदा घर भित्रको खाद्यान्नलगायतका सामग्रीमा क्षति पुगेको छ । बिकले मजदुरी गरेर दैनिकी चलाउँदै आएका थिए ।