दाङका चार नाकामा थप कडाई, उच्च सतर्कता

भालुवाङ,  बाँके र रुपन्देहीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दाङका चार नाकामा साेमबार देखि थप कडाई गरेकाे छ । जिल्ला विपत्त व्यवस्थापन समिति दाङको बैठकले दाङमा उच्च सतर्कता अपनाउने निर्यण गर्दै दाङ प्रवेश गर्ने पूर्व-पश्चिम र उत्तरी क्षेत्रका नाका सिल गरेको छ ।

अहिले ती नाकामा प्रहरी चौबिसै घण्टा खटिएको भन्दै अब स्वास्थ्यकर्मीलाई पनि चौविसै घण्टा खटाउने निर्णय भएको छ ।
बैठकले अमिलिया, भालुवाङ, कोइलावास र हापुरेको नाकामा हेल्थ डेस्क स्थापना गरि स्वास्थ्य जाँच गर्नुका साथै अनाश्यक रुपमा भित्रिने र वाहिरिने सवारी साधनलाई कडा कारवाही गर्ने निर्णय भएको छ । अत्तिआबश्यक बाहेक कुनै पनि सवारी साधन सञ्चालन गर्न नदिने निर्णय भएको उनले बताए ।

त्यस्तै दाङमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगका मजदुरहरु तथा मस्जिदहरुमा समेत -यापिड टेष्ट गर्ने निर्णय गरेको जिल्ला शंकट व्यबस्थापन केन्द्रका सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख नबराज लामिछानेले बताए । साथै बैठकले बेलुका ७ बजे देखी बिहान ५ बजेसम्म पूर्वपश्चिम राजमार्ग पूर्णरुपमा बन्द गर्ने समेत बैठकले निर्णय गरेको छ । २०७७/०१/२२ गते बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको बैठकले गरेका निर्णयहरू

१. पूर्व पश्चिम राजमार्गको जिल्ला प्रवेश विन्दु धानखोला र शिवखोलामा अन्य जिल्लाबाट प्रवेश गर्ने सवारी साधनहरुको चेकजाँचमा कडाई गर्ने ।

२. अत्यावश्यक सेवाका सवारी साधन समेतले इजाजत वेगर मानिस ओसार पसार गर्न सक्ने सम्भावना भएकाले सबै सवारी साधनहरुको अनिवार्य रुपमा परिक्षण गरेर मात्र आवत जावत गर्न दिने ।

३. कुनै पनि सवारी साधनले इजाजत नलिइ मानिस ओसार पसार गरेको पाईएमा तत्काल सवारी साधनलाई समेत नियन्त्रणमा लिने ।
४. जिल्लामा सञ्चालित विभिन्न कारखानाहरु र इट्टा उद्योगमा काम गर्ने भारतीय नागरिकहरुको उद्योग भित्र नै व्यवस्थापन गर्न र बाहिर निस्कन नदिनका लागि पहल गर्न सम्बन्धित उद्योगहरुलाई पत्राचार गर्ने ।

५. जिल्लामा रहेका सम्भाव्य जोखिम हुन सक्ने व्यक्तिहरुको पी सि आर लगायतको परिक्षणको व्यवस्था स्वास्थ्य कार्यालय दाङले मिलाउने र यसको सहजिकरण जिल्ला प्रशासन कार्यालय दाङ, जिल्ला स्थित सुरक्षा निकायहरु र सबै स्थानीय पालिकाहरुले गर्ने ।
६. जिल्लामा रहेका सिमिन्ट कारखाना र इट्टा उद्देश्यमा कार्यरत मजदुर तथा कर्मचारीहरुको अवस्था बुझ्न उद्योग निरिक्षणका लागि जिल्ला स्थित सुरक्षा निकायहरुको प्रतिनिधित्व रहने गरी टोली बनाई परिचालन गर्ने ।

७. पूर्व पश्चिम राजमार्गको कालाकाटे र अमेलिया तथा बबई गाउँपालिका को हंशपुरमा सुरक्षाकर्मी सहितको हेल्थ डेस्क सम्बन्धित स्थानिय तह, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रही बल नेपाल २९ नं. गण को समन्वयमा स्थापना गरी तत्काल संचालनमा ल्याउने ।

८. खाद्यान्न, तरकारी, ग्यास, औषधी लगायतका अत्यावश्यक सामाग्री ढुवानी गर्ने र विरामी बोकेका एम्बुलेन्स बाहेक अन्य सवारी साधनलाई रात्रीको समयमा संचालनमा रोक लगाउने ।

९. दाङ जिल्लाबाट अन्य जिल्लामा विभिन्न अत्यावश्यक कामका लागी जान चाहने व्यक्तिहरुले जानु पर्नाको कारण सहित सवारी पास माग गरेमा जानु पर्ने जिल्लाको सहमती बिना पास उपलब्ध नगराउने ।