राहत वितरणमा लफडा, प्रहरीद्धारा हवाई फायर अश्रु ग्यास प्रहार
जनकपुरधाम, राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो ।
वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको टोलीमाथि ढुंगामुढा भएको थियो । ढुंगामुढापछि भएको दोहरो झडपले उग्र रुप लिएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।
स्थिति तनावग्रस्त बनेपछि भीड तितरबितर गर्न प्रहरीले ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
लकडाउनका कारण समस्यामा परेका गरिब विपन्नलाई राहत नदिएर वडाध्यक्षले आफू नजिकका मानिसलाई राहत बाँडेको भन्दै स्थानीय आक्रोशित बनेका थिए । दोहरो झडपमा परी पाँचजना प्रहरी घाइते भएको बताइएको छ । घाइते प्रहरीको मिर्चैयामा उपचार भइरहेको छ ।