महोत्तरीमा अज्ञात रोगको कारण मृत्यु हुनेको संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
उनी बिहानसम्म बिरामी थिएनन् । तर, बिहान ९ बजेतिर अचानक बिरामी परेपछि उनको मृत्यु भएको स्थानीयले बताएका छन् । भंगाहा–६ का ४८ वर्षीय पलट साह र ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापतिको शनिबार मृत्यु भएको थियो ।
भंगाहा नगरपालिका–७ र बर्दिवास नगरपालिका–१२ एकआपसमा जोडिएका २ वस्तीमा विगत १० दिनभित्र १२ जनाको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्याल महोत्तरीका निरीक्षक गिरेन्द्र झाका अनुसार मृतकमा एकै खालको लक्षण देखिएको छ । अचानक पेट दुखेपछि बान्ता आउने र झाडापखाला लाग्ने र बिरामीको मृत्यु हुने गरेको स्थानीय बताउँछन् ।
भंगाहा नगरपालिकाका मेयर संजीव साहले व्यक्ति आधा घन्टाभित्रै बिरामी परेर मृत्यु हुने गरेको बताए । ‘पेट दुख्यो भन्दाभन्दै बान्ता गर्छन्,’ मेयर साहले भने, ‘उपचार गर्ने ठाउँसम्म पनि नपुर्याउँदै बिरामीको मृत्यु भइरहेको छ ।’
विषाक्त मदिरा सेवन मृत्युको कारण भएको आशंकामा मृतकको भिसेरा संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको छ । भिसेराको रिपोर्ट नआएसम्म के भएको हो भन्न सक्ने अवस्था नरहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन झाले बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको डाक्टरहरुको टोली पनि घटनास्थल पुगेको छ । सम्पूर्ण परीक्षणको रिपोर्ट आएपछि मात्रै रोग यो हो भन्ने सकिने चिकित्सकले बताएका छन् ।
मृतकमध्ये केही व्यक्तिको कोरोना आशंकामा आरडीटी परीक्षण गरी स्वाब संकलनसमेत गरिएको थियो । परीक्षण गरिएका मृतकको आरडीटी रिपोर्ट नेगेटिभ आएको र पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको फोकल पर्सन झाले बताए । लकडाउनका बेला अज्ञात रोगबाट मृत्यु भएको भन्दै गाउँले त्रसित बनेका छन् ।