पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्छः सभापति देउवा

काठमाडौं, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारिता ‘भयमुक्त र पक्षपातरहित’ हुनुपर्ने बताएका छन  । सभापति देउवाले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै कोरोना भाइरस संक्रमणले संचारकर्मीको व्यक्तिगत सुरक्षा र व्यवस्थापनमा चुनौती ल्याएको समेत उल्लेख गरे ।

‘यस वर्ष युनेस्कोले तय गरेको नारा भयमुक्त र पक्षपातरहित पत्रकारिता अनुरूप नै नेपाली पत्रकार र मिडियाले काम गर्न पाउने वातावरण निर्माण गर्ने दायित्व सरकारको हो भने त्यसका लागि खबरदारी गर्ने भूमिका प्रतिपक्षको हो’ उहाँका् सन्देशमा उल्लेख छ, ‘ प्रश्न र आलोचनाको संवैधानिक हक बोकेको मिडियालाई त्यही दायित्व निर्वाह गर्दा हामी कसैले पनि नकारात्मक दृष्टि राख्न मिल्दैन । प्रेसको प्रश्नले आफू बदलिने कि उल्टै प्रेसका विरुद्ध अभिव्यक्ति दिने र द्वेष राख्ने ? वर्तमान सरकार र यसको नेतृत्वले बारम्बार प्रेसका विरुद्ध दिएका अभिव्यक्ति र व्यवहार सच्याउन आजको यो विशेष दिनमा म सार्वजनिक रुपले अपिल गर्न चाहन्छु ।’

सभापति देउवाले पत्रकार र मिडिया यतिबेला दुई खालका चुनौतीबाट गुज्रिरहेको बताएक छन । ‘कोभिड १९ को विश्व महामारीले एकातर्फ पत्रकारको व्यक्तिगत स्वास्थ सुरक्षा र अर्कातर्फ मिडियाको व्यवहारिक व्यवस्थापनमा चुनौती ल्याएको छ’ सन्देशमा भनिएको छ, ‘विज्ञापनदेखि ढुवानीसम्ममा परेको असरले कतिपय मिडिया यसविचमा बन्द भएका छन् भने कयौं पत्रकार बेतलबी स्थितिमा छन् ।

अतः कोरोना संकटबाट समग्र प्रेस जगतमा उत्पन्न चुनौती न्यून गर्न पत्रकार र संचारमाध्यमका लागि विशेष राहत योजना निर्माण गर्न म सरकारसँग आग्रह र माग गर्दछु । जटिल परिस्थितिमा पनि संयमित रहेर नेपाली प्रेसले निर्वाह गरिरहेको भूमिकाको नेपाली कांग्रेस पार्टीका तर्फबाट उच्च कदर र सह्राना गर्दछु ।’