नेपालगञ्जमा भेटिएका ९ संक्रमित यसअघिकै संक्रमितका छिमेकी

काठमाडौँ, आइतबार नेपालगञ्जमा भेटिएका थप ९ जना कोरोना संक्रमित यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेको खुलेको छ । गत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार रातीदेखि नै उक्त क्षेत्र सिल गरिएको थियो ।

त्यसपछि शनिबार कोरोना संक्रमित व्यक्तिको घरपरिवार, आफन्त र सम्पर्कमा रहेका ९० जनाको स्वाब लिइएकोमा ३० जनाको रिपोर्ट आएको हो । जसमा ७ वर्षीया बालिका सहित ९ जनामा संक्रमण पोजिटिभ देखिएको हो । अझै संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ६० जनाको रिपोर्ट आउन बाँकी छ ।

मुस्लिम समुदायका ती संक्रमित पुरुष नेपालगञ्जको मस्जिद र मदरसामा नियमित आवतजावत गर्ने व्यक्ति भएको जनाइएको छ । संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका अन्य व्यक्तिको पनि खोजी भइरहेको छ ।

नेपालगञ्जमा कोरोना देखिएका नौ जनामध्ये ५ जना पुरूष र ४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍‍. विकास देवकोटाले जानकारी दिएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।