कोरोनाबाट भारतमा मृतकको संख्या १ हजार ३२३ पुग्यो
काठमाडौ, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट एकैदिन थप १ सय जनाले ज्यान गुमाएसँगै मृतकको संख्या १ हजार ३२३ पुगेको छ ।
भारतमा एकैदिन थप २ हजार ४४२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३९ हजार ६९९ पुगेको छ । भारतमा संक्रमितमध्ये १० हजार ८१९ जना उपचारपछि निको भएका छन् । २७ हजार ५५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सार्क मुलुकमा पनि भारत भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३३६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी इरानमा ६ हजार ११५ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ । चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।