मध्य अफ्रिकामा सशस्त्र समूहबीच भिडन्त, ५३ जनाको मृत्यु

एजेन्सी, मध्य अफ्रिकामा दुई वटा सशस्त्र समूहका बीच भएको भिडन्तमा ५० भन्दा बढीको मृत्यु भएको छ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने एनडेल भन्ने ठाउँमा बुधबार भिडन्त भएको स्थानीय सञ्चारमाध्यमहरुले शुक्रबार जनाएका छन्। दुईपक्षीय भिडन्त एनडेलको मध्य बजारमै भएको थियो। भिडन्तपछि घटनास्थलमा ५३ शव भेटिएका अधिकारीहरुले जानकारी दिएका छन्।

मृत्यु भएकामध्ये २५ जना आम नागरिक र अरु २८ जना सशस्त्र विद्रोहीका लडाकु रहेको उनीहरुको भनाइ छ। दुई पक्षबीच किन भिडन्त भएको थियो भन्ने अज्ञात नै रहेको समाचारमा जनाइएको छ। यस क्षेत्रमा यसअघि पनि अन्तजातीय द्वन्द्व बेला बेलामा हुने गरेको थियो । विषेश गरेर गौला र रौङ्गा समूहका बीचमा भिडन्त हुने गरेको हो ।