भारतबाट उद्धार गरिएका एकजनाको क्वारेन्टाइन सार्दासार्दै मृत्यु

बैतडी,  भारतीय सीमा नाका झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइन सार्ने क्रममा ज्यान गएको छ । झुलाघाटबाट उद्धार गरेर ल्याइएकी बैतडीको पुर्चौडी नगरपालिका–६ का ६७ वर्षीय जूनी लोहारको शनिबार बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीराम पाण्डेले जानकारी दिएका छन् ।

शनिबार विहान पुरचौडीको क्वारेन्टाइनमा हिंडाएर लैजाने क्रममा लोहारको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिएका छन् । बिहीबार सीमावारीबाट ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो । शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो ।

कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ । उनले दमको औषधि खाइरहेको पाइएको पनि पाण्डेले जानकारी दिएका छन् ।