कोरोना संक्रमित पुरुष क्वारेन्टाइनबाट भागेका थिए
बाँके, शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएका नेपालगञ्जका एक पुरुष क्वारेन्टाइनबाट भागेको खुलेको छ। भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपाल फर्किएका उनलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो ।
तर, उक्त क्वारेन्टाइनबाट झन्डै ६०० जना भागेका थिए । यी संङ्क्रमित पनि भाग्नेमध्ये भएको प्रहरी स्रोतले बताएको छ । प्रशासनका अनुसार संक्रमित व्यक्ति डिएसपी रोडस्थित घरबाट महेन्द्र पार्कस्थित मस्जिदमा दैनिक आउजाउ गर्दै आएका थिए ।
सङ्क्रमितले नेपालगञ्ज –८ स्थित मस्जिदमा सहायकका रुपमा काम गर्दै आएको बुझिएको छ । रमजान शुरु हुनु केही दिन अघि मात्र उनी मस्जिदमा गएर बसेको बुझिएको छ ।
लकडाउनका अवधिमा मस्जिदमा नमाज तथा अजानका क्रममा नियमित आवतजावत गर्न समस्या पर्ने हुँदा उनी रमजानको शुरुवातीसँगै मस्जिदमा बस्थे । उनका श्रीमती र छोरा तथा नजीकका छिमेकीको पनि कोरोना जाँच गरिने भएको छ ।
नेपालगञ्जका चार स्थान बन्द
बाँकेमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि बाँके प्रशासनले उच्च सतर्कता अपनाएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्लास्थित उच्चस्तरीय सुरक्षा संयन्त्रको बैठकले कोरोना सङ्क्रमणको आशंकामा नेपालगञ्जका चार स्थान बन्द गरेको छ ।
बाँके प्रशासनले नेपालगन्जको डिएसपी रोड, धम्बोझी, एकलैनी र महेन्द्र पार्क आसपासका क्षेत्र बन्द गरेको छ । नेपालगञ्जका यी क्षेत्र साँघुरा र घनाबस्तीयुक्त हुन् ।
नेपालगञ्ज धम्बोझीका अर्का एक युवकमा पनि सङ्क्रमणको आशंका गरिएपछि सो क्षेत्र बन्द गरिएको हो । ती युवक धम्बोझीस्थित मस्जिदमा बस्दै आएका थिए । डुडवा गाउँपालिकाकाका उनी लामो समयदेखि घर छाडेर मस्जिदमा बस्दै आएका छन् ।
उनलाई पनि खजुरास्थित क्यान्सर अस्पतालमा रहेको आइसोलशनमा राखिएको छ । उक्त मस्जिद लकडाउनपछि बन्द गरिएको थियो ।