मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास अस्वीकार्य : प्रधानमन्त्री ओली
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास सरकार र नेकपा कार्यकर्तालाई स्वीकार्य हुन नसक्ने बताएका छन्। मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै ओलीले केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धेकेल्ने प्रकृतिका समाचार सम्प्रेषण भइरहेको भन्दै असन्तुष्टि जनाएका हुन्।
सन्देशमा उनले भनेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपा कार्यकर्ता र नेपाली जनतालाई त्यो किमार्थ स्वीकार्य हुँदैन।’ उनले त्यस्ता प्रयासलाई सफल हुन नदिइने आश्वस्त पारेका छन्।
उनले उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहका कष्टकर जीवनप्रति आफू अत्यन्तै दुःखी भएको बताएका छन्। यस्तै उनले कोरोना भाइरसको महामारीका कारण ‘न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने’ चेपुवामा श्रमिकको पीडाप्रति आफू संवेदनशील बनेको जनाएका छन्।
सन्देशमा प्रधानमन्त्रीले भनेका छन्, ‘म ठान्दछु, श्रमजीवी वर्ग भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने वर्ग हो । परिवर्तनको संबाहक हो। र, सबै आत्तिएको बेला ढाडस दिन सक्ने, अनि आफैं अघि सरेर समस्याको सामना गर्न सक्ने वर्ग श्रमजीवी वर्ग हो।’
उनले कोरोना भाइरसको महामारीबिरुद्ध अग्रपंक्तिमा रहेर जुधिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ लगायतका सेवामा क्रियाशील श्रमजीवीहरुको उच्च प्रशंसा गरेका छन्।
प्रधानमन्त्रीले अवधिका हिसाबले यस वर्ष श्रमिकहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्नुपर्ने भए पनि परिस्थितिले साथ नदिएकाले तलबभत्ता बढाउन नसकिने स्पष्ट गरेका छन्।
उनले अबका सबै प्रयास स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हुने बताएका छन्। उनले भनेका छन्, ‘भूकम्पपछिको यस दशकलाई हामीले पुनर्निर्माणको दशक भनेझैं, अबको हाम्रो पहिलो लक्ष्य कोरोनाबाट हाम्रो समाजलाई मुक्त बनाउनु हुनेछ।’