श्रमजीवीका लागि राहत प्याकेज घोषणा गर्न प्रचण्डको ध्यानाकर्षण

काठमाडौं ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु,’ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन् ।

त्यस्तै उनले विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत रहेको र संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको पनि जनाएका छन् ।

त्यस्तै उनले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पु¥याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।