धनगढीमा कोरोना संक्रमित महिलाको छैटौं रिपोर्ट पनि पोजेटिभ
प्रकासित मिति : २०७७ बैशाख १९, शुक्रबार ११:३२
प्रकासित समय : ११:३२
धनगढी, कोरोना भाइरस (कोभिड–१९) बाट स्थानीय स्तरमा पहिलोपटक संक्रमित धनगढीकी महिलाको छैटौं स्वाब परीक्षण (पीसीआर) रिपोर्ट पनि पोजेटिभ आएको छ।
सेती प्रादेशिक अस्पताल, धनगढीको आइसोलेसनमा उपचाररत धनगढीकी ३४ वर्षीया महिलाको छैटौं रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको हो।
दुबईबाट फर्किएका संक्रमित देवरबाट उनलाई कोरोना सरेको हो। देवर भने निको भएर घर फर्किसेका छन्। ती महिलालाई चैत २२ गते कोरोना पुष्टि भएको थियो। उनका देवर चैत ११ गते अस्पताल भर्ना भइसकेका थिए।
अस्पतालका अनुसार संक्रमित महिलाको अवस्था सामान्य छ, उनमा कोराना संक्रमणको बाह्य लक्षण केही पनि छैन। हालसम्म सुदूरपश्चिममा उपचाररत कोरोना संक्रमितमध्ये उनी मात्र एक्ली हुन्। बाँकी सबै निको भएर घर फर्किसकेका छन्।