बुद्धलाई क्वारेन्टाइनमा राख्दा
तिमीले पहिले नै तिम्रो अभिमानलाई
क्वारेन्टाइनमा राखेको भए
आज निर्दोष दुनियाले
क्वारेन्टाइनमा बस्नुपर्ने थिएन ।
तिम्रो अभिमानको
उन्मादले कृषकहरूको रोटी खोस्यो
सोझी आमाको सपनाको गला रेट्यो
इमान्दार बाउको सफा योजनाको
निर्मम हत्या गऱ्यो ।
तिमीले पनि सोच्न सिकेउ होला
अरुको घर डढाउन खोज्दा खोज्दै
आफ्नो शरिर नै डढेपछि ।
तिमीले बिर्सिपठाएको थिएँछौ
बुद्धको थप्पडमा आवाज हुँदैन भन्ने
सत्य कुरा ।
सिमाना बाहिरको शत्रुलाई धुल चटाउने
इच्छाले आज तिमीलाई नै
तिमी आफै भित्रको शत्रुले हिलो चटाइएको छ ।
बाहिर दुनियाँको शत्रुलाई जित्न अगाडी
सिद्धार्थले जस्तै आफू भित्रको शत्रुलाई जितेर
बुद्ध बन्नु पर्छ ।
जब जितिन्छ नी आफू भित्रको शत्रुलाई
तब पो निश्चल मन लिएर
हरेकलाई भन्न सकिन्छं
तिमी पनि बुद्ध म पनि बुद्ध
भला त्यो अमेरिका, पाकिस्तान,
इरान, इराक, भेतनाम, कोरिया, जापान,
रसिया, भारत,र नेपाल आदि इत्यादि नै किन नहोस् ।
आफू बुद्ध भएर
अरुमा बुद्ध देख्नु जस्तो
श्रेष्ठ काम अरु केही छैन ।
हौ यो जगतमा
जुन कामबाट
मङ्गलमा गाउँ बसाउँदा पनि
नमिलेको आनन्द मिल्छ आत्मालाई ।
दार्जिलिङ ।