सांसद अपहरण प्रकरणः मानवअधिकार आयोगमा उजुरी दर्ता
काठमाडौं, जनता समाजवादी पार्टीका सांसद अपहरण प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, किसन श्रेष्ठ र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध मानव अधिकार आयोगमा निवेदन दिएका हुन् ।
आफूलाई महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको भन्दै उनले उजुरी दिएका हुन् । यसअघि उनको उजुरी जिल्ला सरकारी कार्यालय काठमाडौं र काठमाडौं प्रहरीले लिन अस्वीकार गरेको थियो । सांसद यादवको उजुरीमा आफ्नो जीवनरक्षा र घटनाको निष्पक्ष छानबिन गर्नका माग गरिएको छ ।
बस्नेत, श्रेष्ठ र खनालले तत्कालीन समाजवादी पार्टीका सांसद यादवलाई १० वैशाखमा महोत्तरीबाट काठमाडौं ल्याएका थिए । डा यादवले आफूलाई अपहरणको शैलीमा काठमाडौंमा ल्याएको बताउँदै आएका छन् । समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्रीकै निर्देशनमा आफ्ना सांसदलाई अपहरण गरिएको दाबी गरेका छन् ।
यसैबीच जनता समाजवादी पार्टीले सरकारी वकिल कार्यालयमा पत्र छाडेर गएको थियो । त्यो दर्ता भएको भएन भनि बुझ्नका लागि जनता समाजवादी पार्टीका तर्फबाट राखिएका वकिलहरु सरकारी वकिल कार्यालय जाने भएका छन् । यस्तै उनीहरुले निवेदन दर्ता गराउन दवाव दिनेछन् ।