बलिउडले गुमायो दुई दिनमै दुई चर्चित कलाकार
भारतीय चलचित्र उद्योगले दुई दिनमै दुई उम्दा कलाकारलाई गुमाएको छ। हिजो (बुधबार) मात्रै कलाकार इरफान खानको मृत्यु भएकोमा आज अर्का दिग्गज अभिनेता ऋषि कपुरको निधन भएको छ। इरफान ट्युमरबाट पीडित थिए भने ऋषि क्यान्सरबाट। इराफानको ५४ वर्ष र ऋषिको ६७ वर्षको उमेरमा निधन भएको छ।
सन् १९५२ सेप्टेम्बर ४ मा मुम्बईमा जन्मिएका ऋषि अभिनेताका साथै फिल्म निर्माता र निर्देशक पनि हुन्। सयौं फिल्ममा अभिनय गरेका ऋषिले भारतका थुप्रै प्रतिष्ठित पुरस्कारहरु प्राप्त गरेका छन्।
ऋषि कपुरकी पत्नी नितु सिंह पनि फिल्म क्षेत्रमै सक्रिय छिन्। कपुरले सन् १९७० को दशकदेखि बलिउड प्रवेश गरेर फिल्म खेल्न थालेका थिए। उनका कर्ज, दो दुनी चार, खेल खेल मेँ, लैला मज्नु, प्रेम रोग, अग्निपथ, जमानेको दिखाना है, चाँदनी लगायत फिल्म हिट छन्।
उनका छोरा रणवीर कपुर पनि फिल्म क्षेत्रमा स्थापित भइसकेका छन्। ऋषिका पिता राज कपुर हुन्। उनी पनि प्रख्यात अभिनेता, निर्माता तथा निर्देशक हुन्। इरफानले भने बिल्लू (२००९), पान सिंह तोमर (२०११) ये साली जिन्दगी (२०११), सात खून माफ (२०१२), लञ्च बक्स (२०१३), हैदर (२०१४), पीकू (२०१५), तलवार (२०१५), हिन्दी मिडियम (२०१७) र करीब करीब सिंगल (२०१८) लगायतका उत्कृष्ट फिल्महरुमा अभिनय गरेका थिए।
पान सिंह तोमरका लागि उनले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार प्राप्त गरेका थिए। यसबाहेक हासिल (२००३) र मकबूल (२०१४) मा उनी नकारात्मक भूमिकाका लागि निकै प्रशंसित भएका थिए।
केही दिनअघि मात्र इरफानकी आमा सइदा बेगमको जयपुरमा निधन भएको थियो। लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा सहभागी हुन पाएका थिएनन्। आमाको निधन भएसँगै इरफान बिरामी परेको बताइएको छ।