धादिङमा दुई बालबालिकाको ज्यान गएपछि दादुरा-रुवेला खोप लगाउन सुरू
धादिङ , धादिङमा दादुराबाट दुईजना बालकको ज्यान गएपछि प्रभावित क्षेत्रका अन्य बालबालिकालाई जोगाउन दादुरा- रुबेला विशेष खोप अभियान सुरू भएको छ। जिल्लाको बेनीघाट र गजुरी गाउँपालिकाका विभिन्न स्थानका बालबालिकालाई खोप लगाउन थालिएको हो।
अभियान अन्तर्गत बेनिघाटरोराङ गाउँपालिकाको कुन्चुरुङ, बाँसखर्क, सिमटार, जरुङ, ब्रुम्दी, ग्यावाटोल, लवाङ, चिम्बाङ, नाम्जीराङ, माथिल्लो ओर्बाङ, तल्लो ओर्बाङ, तिनकन्या आधारभुत विद्यालय, तिनकन्या वागेश्वरी आधारभुत विद्यालय, सलाङघाट स्वास्थ्य केन्द्र, बागेश्वरी माध्यमिक विद्यालय, राजमार्ग अस्पताल, व्राइटफ्यूचर बोर्डिङ, लगायतका स्थानमा खोप केन्द्र तोकेर खोप लगाउन थालिएको छ।
यसैगरी गजुरी गाउँपालिकाको मलेखु भद्रकाली, चम्पराङ, किरान्चोक माध्यमिक विद्यालय, सेती देवी आधारभुत विद्यालय, रिठ्ठाबोटे आधारभूत विद्यालय लगाएतका ठाउँहरुमा खोप अभियानका लागि केन्द्र कायम गरिएको छ। अभियानभर ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने तथा ‘भिटामिन ए’ र जुगाको औषधी खुवाइने गाउँपालिकाले जनाएको छ।
गजुरीमा बैशाख २३ गते र बेनिघाट रोराङ गाउँपालिकामा बैशाख २२ गतेसम्म खोप अभियान संचालन हुनेछ। नेपाल सरकार, प्रदेश सरकार र सम्बन्धित स्थानीय तहको समन्वयमा बुधबारबाट सुरू भएको खोप कार्यक्रम बैशाख २३ गतेसम्म संचालन हुनेछ। खोप अभियान कार्यक्रममा गजुरी गाउँपालिका भर ७६ र वेनिघाट रोराङ गाउँपालिकामा ९७ ओटा खोप केन्द्रबाट गजुरीमा आठ हजार नौ सय ९७ नब्बे र बेनिघाट रोराङमा १३ हजार समेत गरी करिव २२ हजार वालवालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
गजुरी र बेनिघाटरोराङ गाउँपालिकाका चेपाङ तथा तामाङ वस्तीका बालबालिकाहरुमा दादुरा-रुवेलाको संक्रमण देखिएकोले यसलाई नियन्त्रण गर्न खोप कार्यक्रम संचालन गरिएको स्वास्थ्य कार्यलय धादिङका खोप अधिकृत श्याम पोखरेलले जानकारी दिए। लकडाउनको अवधिमा बेनीघाट रोराङ गाउँपालिका-६ कि २९ महिने बालिका अनिसा चेपाङ र वडा नम्बर ४ का आठ महिने शिशु सुशान्त चेपाङको मृत्यु भएको थियो।
१५० जना बालबालिका बिरामी परेको बेनिघाटरोराङ गाउँपालिकाका स्वास्थ्य प्रमुख शंकरबाबु दुवाडीले बताए। अनिसाको चैत १७ र सुशान्तको चैत ११ मा मृत्यु भएको हो। दुवाडीका अनुसार वुमराङलगायत चार वटा वडामा दादुरा-रुबेला फैलिएको छ।
गाउँपालिकाको वडा-६ स्थित तार्केटार, वुङ्गपुङ्ग, भुमेडाँडा, वुमराङ्ग, सोलडाँडा, रोतेस, रुदिङ्ग, जरुङ्गमा धेरैजना बिरामी देखिएका छन। त्यसैगरि गजुरी गाउँपालिकाको वडा नम्बर २ का गाउँबस्तीमा पनि दादुरा फैलिएर बालवालिका विरामी पर्न थालेपछि रोकथामका लागि विशेष खोप अभियान सुरू गरिएको गजुरी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख डाक्टर रामहरी रेग्मीले बताए।