कालोबजारीमा संलग्न अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश
काठमाडाैँ, ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। बिहीबार काठमाडौँ जिल्ला अदालतले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।
बुधबारदेखि सुरु भएको बहसमा न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले बिहीबार आदेश सुनाएको हो। अग्रवालको पक्षबाट वरिष्ठ अधिवक्ता लव मैनाली, कृष्ण सापकोटा र पर्शुराम कोइरालाले बहस गरेका थिए। बिहीबार अधिवक्ताहरु रमणकुमार कर्ण, ओमकुमार दाहाल र कमलेश सुवेदीले बहस गरे। अन्ततः अदालतले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो।
अग्रवाल तीन साताअघि थर्मल गन कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका थिए। बढीमा ५ हजार रुपैयाँ पर्ने थर्मल गनलाई १५ हजार रुपैयाँसम्म लिएर बिक्री गरिरहेको अवस्थामा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो।
जगदम्बा समूहका सदस्य समेत रहेका अग्रवालविरुद्ध चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो। अग्रवालबिरुद्ध १५ लाख ७८ हजार रुपैयाँ बिगो दाबी गरिएको थियो। कालोबजारीसम्बन्धी मुद्दाको सुनुवाई जिल्ला प्रशासन कार्यालयले गर्ने भए पनि एक वर्षभन्दा बढी कैद मागदावी भएपछि मुद्दा अदालतमा पुगेको हो। अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्।