नेकपा सचिवालय बैठक बस्दै
काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दै छ । नेकपा सचिवालय बैठक बुधबार साँझ ५ बजे बस्न लागेको हो ।
अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाइएकाे हो ।
पार्टीभित्र आन्तरिक विवाद बढेपछि विवाद समाधानका लागि बैठक बोलाएको नेताहरूले बताएका छन् । पार्टीमा २ समूह आ–आफ्नो गुट बलियो बनाउन सक्रिय छन् ।
प्रधानमन्त्री ओलीले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशपछि नेकपाभित्र विवाद बढेको हो । सो अध्यादेश फिर्ता भए पनि नेकपाभित्रकाे विवाद भने साम्य भएको छैन ।
यसअघि अध्यादेश जारी भएकै दिन सचिवालयको बैठक बसेको थियो । तर, बैठक बसिरहेको बेला राष्ट्रपतिबाट अध्यादेश प्रमाणीकरण भएपछि अब अध्यादेशमा छलफल गर्नुको औचित्य नभएको भन्दै नेताहरु उठेका थिए ।

