राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच फोनबार्ता
काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङले कोभिड–१९ सँग जुध्न नेपाललाई निरन्तर सहयोग गर्ने बताएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसँग साेमबार टेलिफोन वार्ता गर्दै उनले दुई देशका स्वास्थ्य क्षेत्रबीच सहयोग आदानप्रदान र सहकार्य बढ्नुपर्नेमा जोड दिए।
त्यसक्रममा राष्ट्रपति भण्डारीले आफ्नो देशमा कोभिड–१९ महामारी नियन्त्रणका लागि चीनको सफलताको प्रशंसा गरिन्। उनले महामारीविरुद्धको अन्तर्राष्ट्रिय सहकार्य बलियो बनाउन चीनले खेलेको भूमिकाको पनि प्रशंसा गरिन्।
“चीनको अनुभवले अरु देशलाई पनि कोरोना भाइरस संक्रमण रोक्न आत्मबल प्रदान गरेको छ”, उनले भनिन् । राष्ट्रपति भण्डारीले नेपाललाई अत्यावश्यक मेडिकल सामग्री उपलब्ध गराएकोमा चीनलाई धन्यवाद दिइन्।
“महामारी उन्मूलन भएपछि दुई देशबीचको मित्रता अझ बलियो बन्नेछ”, उनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिजिटिएनले लेखेको छ। कोभिड-१९ महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता बलियो हुनुपर्ने भन्दै चिनियाँ राष्ट्रपतिले नेपाल र इरानका समकक्षीहरूसँग आज फोनवार्ता गरेका थिए।