प्रहरीद्धारा बाबुराम भट्टराईविरुद्धको जाहेरी लिन अस्वीकार
काठमाडौँ, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको जाहेरी काठमाडौँ प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । सोमबार भट्टराईविरुद्ध साइबर अपराधको उजुरी लिएर अनेरास्ववियु संयोजक ऐन महर, रञ्जित तामाङसहितका विद्यार्थी नेता महानगरीय प्रहरी परिसर टेकु पुगेका थिए ।

भट्टराईविरुद्ध साइबर अपराधमा मुद्दा चलाउन प्रमाण नपुग्ने भन्दै अदालतमा ‘गाली बेइज्जती’को मुद्दा दर्ता गर्न सुझाएर विद्यार्थी नेताहरुलाई फर्काइएको परिसरले जनाएको छ । नेकपाका सांसदद्धय किशान श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अपहरण जस्तो गम्भीर आरोप लगाइएको भन्दै विद्यार्थी नेताहरुले भट्टराईविरुद्ध साइबर अपराaधमा जाहेरी दिन परिसर पुगेको थियो ।
तर, जाहेरी लिन प्रहरीले इन्कार गर्यो । जनता समाजवादी पार्टीका नेता तथा सांसद डा। सुरेन्द्र यादवलाई बस्नेत, श्रेष्ठ र खनालसहितको समूहले अपहरण गरेर जनकपुरबाट काठमाडौँ ल्याएको आरोप लगाउँदै भट्टराईले फेसबुक र ट्विटरमा लेखेका थिए । सांसद यादवलाई साथमै लिएर आइतबार भट्टराईसहितका जसपाका नेता ‘सांसद अपहरण’को जाहेरी लिएर काठमाडौँ प्रहरीमा पुगेका थिए । सांसद यादवको जाहेरी पनि प्रहरीले ‘इन्कार’ गरेको थियो ।

