प्रचण्ड र खनालको निश्कर्ष बैठक बोलाउन थप दबाब दिनुपर्छ

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भएकाे भेटबार्ताले स्थायी समितिकाे बैठक बाेलाउने निश्कर्ष निकालेकाे छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक बाेलाउन थप दबाब दिने सहमति भएकाे बताइएकाे हाे ।

अध्यादेश प्रकरणसँगै बढेको विवाद र ध्रुवीकरणका बीच नेकपाका शीर्ष नेताहरूबीच पनि संवाद बाक्लिएका छन् । सोमबार बिहान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवाटारमा भेटवार्ता भएको केही समयपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच पनि छलफल भएको छ ।

प्रचण्डनिवास खुमलटारमा प्रचण्ड र खनालबीच दुई घन्टा छलफल भएको थियो । उनीहरूबीच पार्टीभित्रको पछिल्लो विवाद र आगामी रणनीतिबारे छलफल भएको बताइएको छ । पार्टी एकता बलियो बनाउँदै तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिने विषयमा प्रचण्ड र खनालबीच सहमति भएको स्रोतको भनाइ छ ।

नेकपाका बहुमत स्थायी कमिटी सदस्यले बैठक बोलाउन माग गरे पनि अध्यक्ष ओली अझै तयार भएका छैनन् । यसले नेकपाभित्र ध्रुवीकरण र समूहगत छलफल बढाएको छ ।