कोटेश्वर भेलाको निष्कर्ष : सचिवालयपछि स्थायी समिति बैठक बोलाउने सहमति
काठमाडौं, नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे छ।
नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर उद्योग व्यवसाय महासंघको भवनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र नेता नेपाल पक्षका नेताहरुबीच भएको वार्तामा उक्त सहमति भएको हो।
‘भोली सचिवालय बैठक राख्ने र त्यसले स्थायी समिति बैठकको मिति तोक्ने सहमति भएको छ,’ नेपाल पक्षका स्थायी समिति सदस्य रघुजी पन्तले बताए, ‘पार्टी कमिटिका बैठक राखेर सबैकुरा त्यहाँबाटै निकास दिनुपर्ने कुरा भएको छ।’
उनले प्रधानमन्त्री र पार्टी अध्यक्ष समेत रहेका कारण प्रधानमन्त्री ओलीले नै पार्टीभित्रकाे समस्याकाे निकास दिनुपर्ने बताए। सो वार्तामा प्रधानमन्त्री ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी थिए।
छलफलबाट ओलीपक्षका नेताहरु बाहिरिएपछि नेपाल पक्षका नेताहरुले साेहि ठाउँमा छलफललाइ निरन्तरता दिइरहेका छन्। यसअघि सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेता नेपाल र प्रधानमन्त्री ओलीबीच छलफल भएको थियो।
पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद समाधानका लागि द्विपक्षीय वार्ता तीव्र पारिएकाे छ।