‘सांसद अपहरण’ विरुद्ध महानगरीय प्रहरी परिसरमा जाहेरी

काठमाडौं  जनता समाजवादी पार्टीका नेताहरुले सांसद सुरेन्द्र यादवको ‘अपहरण’ विरुद्ध महानागरीय प्रहरी परिसर, टेकुमा जाहेरी दिएका छन्। नगठित जनता समाजवादी पार्टीका नेताहरु बाबुराम भट्टराई, उपेन्द्र यादव र राजेन्द्र महतो, शरत सिंह भण्डारी, अधिवक्ता सुरेन्द्र महतो लगायतका नेताहरु परिसर पुगेर जाहेरी दर्ता गराएका हुन्।

गत बुधबार समाजवादी पार्टी टुक्राउनका लागि सांसद सुरेन्द्र यादवलाई प्रधानमन्त्रीको निर्देशनमा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, एमाले नेता महेश बस्नेतलगायतले महोत्तरीबाट अपहरण गरी काठमाडौं ल्याएको उनीहरुको आरोप छ।

यसअघि ८ बैशाखमा सरकारले राजनीतिक दल गठन सम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशका कारण नेकपाभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीको तिब्र आलोचना भएपछि अध्यादेश फिर्ता गरिएको छ।

अध्यादेश सिफारिस गरेकै दिन साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीले अध्यादेश नेकपा फुटाउन नभई अन्य कुनै राजनीतिक दल फुटाउनका लागि ल्याइएको प्रष्टिकरण दिएका थिए। दल फुट्ने हल्लाले समाजवादी पार्टी र राजपाबीच रातारात पार्टी एकता भएर जनता समाजवादी पार्टी गठन भएको छ।