एक थोपा आँसु
सोफेन जिन्दगीलाई ओल्टाउछे
फेरि पुरुष र महिलाबीचको
भिन्नताका पाना पल्टाउछे
खोज्छे नारी भित्रको पुरुषत्व
उसलाई लाग्छ लोग्नेबाट
स्वतन्त्र हुनु पुरुषत्व हो
एकबित्ताको लुगा लगाएर
रुखो बोलीमा ग्रजिनुलाई
लोग्ने र आफू बीचको समानता ठान्छे
अझै समानताको नाउँमा
डिस्को बार
आधुनिक समाजको खोक्रो भाषण सँगै
छिर्छे रेष्टुरेन्टमा
चुस्की लगाउन
आफू माथि लोग्नेले गरेको थिचोमिचो
शायद त्यही लुकाउदै
ओठ्बाट चुहिएको बियरको थोपा
लेप्राउदै जिब्रोले
आँसु सँगै उ बियरको चुस्कीमा
नारी पुरुषत्व खोजिरहेकी छ
पुरुषले गर्न हुने हामीले नहुने
ठाडो बिरोध उस्को
विचारमा होइन बाहय कुरामा
पुरुषत्व खोज्दै छ उ
उ आफैंलाई थाहा छैन
जिन्दगीको गाडी
कुन दिशातिर हाक्दै छ
शायद नारी भित्रको पुरुषत्व
अर्थ नबुझेर होला
बारम्बार दुर्घटनामा पर्छे सोफेन ।
सोफेन जस्ता हजारौं सोफेन
भेटिन्छन् सडकमा
लुवाइ खुवाइ
अचम्म लाग्छ
अर्धनग्न शरीर लिएर
कसरी हिड्ने गर्छन खुलेयाम
के चिल्ला तिघ्रा देखाउनु
नारी भित्रको पुरुषत्व हो र ?
के बारमा बियरको चुस्की लगाउनु
समानता हो त ?
प्रश्न माथी प्रश्न
प्रश्न वाचक चिन्ह खडा भएको छ
शायद उसलाई त्यही लाग्छ
त्यसै भित्र खोज्छन्
हजारौं सोफेनले
पुरुषत्व…………..
आज सोफेन एक चुस्की बियर र एक थोपा आँसुमा फरक छुटाउदै छे ।
वुटवल