स्वास्थ्य सामग्री खरिद प्रकरण : लेखा समितिले थाल्यो छानबिन

काठमाडाैँ, मेडिकल सामग्री खरिदमा भएको भनिएको अनियमितता छानबिन गर्न लेखा समितिले सरकारसँग सम्पूर्ण कागजात समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ। समितिले आइतबार सरकारलाई सात दिनभित्र कागजात तथा विवरण उपलब्ध गराउन निर्देश गरेको हो।

समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको पत्रमा भनिएको छ, ‘कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यले स्वास्थ्य सेवा विभागमार्फत विनाप्रतिष्पर्धा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाइएको थियो ।

सो खरिद सम्झौता रद्द गरिएको बुझिएकाले यस सम्बन्धमा समितिले छानबिन कार्य अघि बढाउन आवश्यक देखिएकाले सो सम्बन्धमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजातहरू तथा खरिद प्रक्रियामा भए–गरेको सम्पूर्ण कागजातहरू उपलब्ध गराइदिनू।’ मेडिकल सामग्री खरिद प्रकरणमा अख्तियारले पनि छानबिन थालेको छ।