१० दिन थपियो लकडाउन, वैशाख २५ सम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले चैत ११ देखि जारी लकडाउनलाई वैशाख २५ सम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारले पछिल्लोपटक थप गरेको समयावधि सोमबार सकिँदै थियो । मन्त्रिपरिषद्को आइतबारको बैठकले वैशाख २५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि १० दिन थप्ने निष्कर्ष निकालिएको हो ।

उच्चस्तरीय समन्वय समितिको चैत १० गते बसेको बैठकले लकडाउनको घोषणा गरेको थियो । पहिलो चरणमा चैत ११ गते बिहान ६ बजेदेखि एकसाता लकडाउनको घोषणा गरिएको थियो । चैत १७ गते बसेको मन्त्रिपरिषद् बैठकले समय थप गरेर चैत २५ गतेसम्म कायम राखेको थियो ।

चैत २४ गते मन्त्रिपरिषद् बैठकले पुनः आठदिन थपेर वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । पछिल्लोपटक १२ दिन थपेर वैशाख १५ गतेसम्म लकडाउन बढाइएको थियो । सरकारले कोरोना रोकथाम, नियन्त्रणका लागि लकडाउन प्रभावकारी बनेको निचोड निकालेको छ ।