जनता समाजवादीको दल दर्ता रोक्न निर्वाचन आयोगमा उजुरी

काठमाडाैँ, सत्तारुढ नेकपाको भातृ संगठन युवा संघले संघीय समाजवादी पार्टी र राजपा नेपालको एकता प्रक्रिया रोक्न माग गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ। युवा संघका केन्द्रीय सदस्य अमित लामाले उजुरी दर्ता गराएका हुन्।

उनी तत्कालीन एमाले भातृ संगठन युवा संघको केन्द्रीय कोषाध्यक्ष समेत थिए। ‘हामीले दुई दलबीचको सहमति पत्रमा बहु राष्ट्रिय राज्य कायम गर्ने उल्लेख भएको र सो व्यवस्था संविधान प्रतिकुल भएको उल्लेख गरेर निर्वाचन आयोगमा उजुरी गरेका हौँ’, लामाले भने, ‘हाम्रो निवेदन १३९० नंम्बरमा दर्ता भएको छ।’

‘नयाँ दलको उद्देश्य नेपालमा बहु राष्ट्रिय राज्य काम गर्ने भनी उल्लेख गरिएको छ’ निवेदनमा भनिएको छ, ‘छुट्टै देश अर्थ झल्कने गरी दल दर्ता गर्न प्रस्ताव गरिएकाले नेपालको संवधानको धारा २६९ को ५ विपरित प्रस्ताव गरिएकाले उक्त दल दर्ता प्रक्रिया रोकी पाउन यो निवेदन पेश गरेका छौँ।’