आरडिटी परीक्षणमा तीनपटक पोजेटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्ज, कोरोना संक्रमण पहिचानका लागि आरडिटी परीक्षण गर्दा लगातार तीनपटक पोजेटिभ देखिएकी वीरगञ्जकी एक युवतीको आइतबार बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटिका टोलकी २३ वर्षीया एक युवतीको ज्यान गएको हो ।

आरडीटी परीक्षणमा लागातार तेस्रो रिपोर्ट पोजेटिभ देखिएको ती युवती ब्लड क्यान्सर रोगबाट पनि पीडित थिइन् । उनको भरतपुर अस्पतालमा उपचार हुँदै आएको थियो । शनिबार बिहानैदेखि युवतीको स्वास्थ्यमा समस्या देखिएपछि परिवारजनले उनलाई वीरगञ्जमै रहेको तराई हस्पिटलमा लगेका थिए । युवतीको कारोना टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएपछि नारायणी अस्पतालका चिकित्सकको टोली त्यहाँ पुगेको थियो ।

लगत्तै सो टोलीले पनि युवतीको आरडिटी टेष्ट गर्दा पोजेटिभ नै देखिएको थियो । लगातार तीनवटा रिपोर्ट पोजेटिभ आएपछि युवतीलाई नारायणी अस्पतालमा ल्याउनेक्रममा आईतबार बिहान ज्यान गएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायको भनाई छ ।

उपाध्यायका अनुसार मृत्युको कारण यकिन गर्नको लागि युवतीको थ्रोट स्वाब संकलन गरि पिसिआर परीक्षणको लागि हेटौँडास्थित प्रयोगशालामा पठाइएको छ । मृतक युवतीको शवलाई अहिले नारायणी अस्पतालमै राखिएको छ । युवतीको घर रहेको अशोकबाटिका क्षेत्रमा प्रहरीले अहिले सुरक्षा व्यवस्था कडा पारेको छ । आवतजावतमा पूर्ण रुपमा रोक लगाएको छ ।