भेरी नगरपालिकाका मेयर घर्तीमाथि आक्रमण
जाजरकोट , जाजरकोटको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीलाई हातपात भएको छ । नेकपाका नेता एवम नगर प्रमुख घर्ती माथि शनिवार विहान सत्तारुढ नेकपाकै युवा दस्ता युवा संघ नेपालकाे एक समुहबाट आक्रमण भएको बताइएकाे छ ।
जिल्लाको भेरी नगरपालिका वडा नम्वर १० को फेराखोला स्थित भेरी किनारमा उक्त समुहले हातपात गरेको नेकपा जाजरकोटले जनाएको छ । सत्तारुढ नेकपाका कार्यकर्ता एवम साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उनको मलामी गएका नगरप्रमुख घर्तीलाइ हातपात गरिएको नेकपा जाजरकोटका अध्यक्ष ढकवीर रानाले वताए । हातपातमा युवा संघ जाजरकाेटका संयाेजक दिपेन्द्र शाहीको समुह रहेकाे बताइएकाे छ । मुक्का प्रहारवाट मेयर घर्तीको आँखा र समेत मुखमा चोट लागेको अध्यक्ष रानाले वताए ।
नगर प्रमुख घर्ती पुर्व एमाले जाजरकोटका सचिव र अहिले नेकपाको कर्णाली प्रदेश समिति सदस्य हुन् । युवा संघका संयोजक शाही पुर्व एमाले निकट युवा संघ नेपाल जाजरकोटका पुर्व अध्यक्ष हुन् । शाहीले गाउँमा योजना पार्दा नगर प्रमुख घर्तीले पक्षपात गरेको भन्दै गुनासो गर्ने क्रममा भएको विवादमा मेयर घर्ती माथि हातपात भएको एक प्रत्यक्षदर्शीले बताए । योजना दिदा आफुहरुले नपाएको र आफुहरु माथि अन्याय भएको गुनासो गर्ने क्रममा विवाद भएको उनले वताए ।