भियतनाम जहाँ कोरोनाबाट एकजनाको पनि मृत्यु भएन
विश्वभर कोरोना भाइरसको महामारी छ। तर एउटा यस्तो देश जहाँ तीन महिना अवधिमा भाइरसको केही संकेत मात्र देखिएको छ। यो देश हो भियतनाम। यसको सिमाना चीनसँग जोडिएको छ, जहाँ कोरोना भाइरस महामारी सुरु भएको थियो।

भियतनामको हनोईस्थित सडकमा स्कुटी चढेर गन्तव्यतर्फ जाँदै महिला। तस्बिर : एएफपी
भियतनामको जनसंख्या झन्डै १० करोड छ। अप्रिल २३ सम्म भियतनाममा २६८ जनालाई कोरोना भाइरस संक्रमण भएको छ। तीमध्ये २२५ जनालाई निको भइसकेको छ।
फेब्रुअरी तेस्रो सातासम्म भियतनामा १६ जना संक्रमित भएका थिए। त्यतिखेरै सरकारले सबै बिरामी निको भएको भन्दै कोरोनामुक्तिको घोषणा गरेको थियो। तर बिस्तारै त्यहाँ कोरोना संक्रमणका बिरामी देखा पर्न थालेपछि सरकार सजग भएर रोकथाममा जुट्यो।
सुरुमा कोरोना भाइरससँग लड्न भियतनाम सरकारले नागरिकलाई सचेत गरायो। साथै संक्रमण जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी थाल्यो। अहिले धेरै ठाउँमा लगाइएका प्रतिबन्ध हटाइसकिएका छन्। सरकारले शिक्षण संस्थालाई पठपाठन थाल्न अनुमति दिइसकेको छ। जिज्ञासा उत्पन्न हुन्छ, भियतनामले कोरोना भाइरस संक्रमणको जोखिमबाट आफूलाई कसरी मुक्त गर्न सफल भयो त?
सबै सीमा बन्द
भियतनाममा जनवरी अन्त्यतिर पहिलोपटक कोरोना संक्रमित भेटिएका थिए। सरकारले तत्काल चीन, लाओस र क्याम्बोडियासँग जोडिएको सबै सीमा नाका बन्द गर्ने निर्णय लियो। हवाईमार्गबाट स्वदेश आएका नागरिकको विमानस्थलमै थर्मल स्क्रिनिङ लिन थाल्याे। विदेशबाट आएका सबैलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्न आदेश दियो।
विदेशबाट आएका व्यक्तिलाई राख्न होटललाई क्वारेन्टाइन बनाइयो। त्यसमा लागेको खर्च सरकारले आफैंले तिर्ने व्यवस्था गर्यो। मार्च अन्तिम सातामा आइपुग्दा भियतनामले विदेशीलाई प्रवेशमा प्रतिबन्ध नै लगायो।
यति मात्र होइन, भियतामी मूलका विदेशी र भियतनामी नागरिकका परिवारका सदस्यलाई पनि प्रवेशमा रोक लगायो।
कन्ट्याक्ट ट्रेसिङमा जोड
कोरोना भाइरस संक्रमित व्यक्तिलाई आइसोलेसनमा राखियाे। संक्रमितका सम्पर्कमा रहेका व्यक्तिलाई छिटोभन्दा छिटो पत्ता लगाएर परीक्षण गरियो।
यति मात्र हैन, भियतनामले आफ्नै देशमा सस्तो मूल्यमा परीक्षण किट उत्पादन गर्न सुरु गर्यो। भियतनाममा बढीभन्दा बढी व्यक्तिलाई परीक्षण गर्न पर्याप्त उपकरण छैनन्। तर सरकारले कम खर्च हुने विधि अनपनायो र संक्रमित र उसका नजिकका व्यक्तिलाई छिटोभन्दा छिटो ट्य्राक गर्न सफल भयो ।
व्यापक जनचेतना
भियतनाम सरकारले कोरोना भाइरस संक्रमणबाट जोगिन देशव्यापी रुपमा अभियान चलायो। अभियानमा ससाना भिडियो, पोस्टर आदिका माध्यमबाट कोरोना भाइरसबाट बच्ने तरिका सिकाइयो।
प्रधानमन्त्री ग्युएन जुआन फुकले नागरिकलाई महामारीका लागि लड्न तयारी अवस्थामा रहन सार्वजनिक रुपमा अपिल गरे।
लकडाउन असाध्यै थोरै
भियतनाममा कोरोना संक्रमित बिरामीलाई क्वारेन्टाइनमा राख्न सफल छ। प्रभावित स्थानीय प्रशासन र सशक्त सुरक्षा व्यवस्थाका कारण भियतनामले देशका केही ठाउँ क्वारेन्टाइनमा राख्न सफल भएको छ। तर भियतनामले अन्य मुलुकमा जसरी लकडाउन लागू गरेको छैन।
राजधानी हनोई र अन्य दर्जनौं ठूला सहरमा लागू गरिएको लकडाउन थोरै समयमै हटाइसकिएको छ। त्यहाँको तीन जिल्ला भने अहिलेसम्म पूरै लकडाउनमा छ।
कतिपयले के आशंका गरेका छन् भने अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न जानुपर्ने डरले कतिपय मानिस अझै सम्पर्कमा नआएका हुन सक्छन्।
किनकि त्यहाँ एउटा मात्र पार्टीको शासन व्यवस्था छ। कम्युनिस्ट मुलुक भएकाले कतै व्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप भएन भनेर जिज्ञासा राख्ने पनि छन्। अधिकारीहरुले संक्रमण हुन नदिन कयौं स्थानमा नागरिक स्वतन्त्रतामाथि रोक पनि लगाउनुपरेको बताएका छन्।
अस्ट्रेलियाको न्यु साउथ वेल्स विश्वविद्यालयका प्राध्यापक कार्ल थयारका अनुसार भियतनामको समाज जागरुक छ। त्यहाँ एउटा मात्रै दलको व्यवस्था छ।
उनले भने, ‘पार्टीको शीर्ष तहबाट गर्ने निर्णयलाई प्रहरी र सेनाले कार्यान्वयन गर्छन्। उच्च सरकारी अधिकारीहरुले यस्तो चुनौतीका बेला गम्भीर निर्णय लिइहाल्छन्।’
बीबीसीबाट