छोडेन कोरोनाले यी जुम्ल्याहा दिदीबहिनीलाई पनि

काठमाडौँ, कोरोनाभाइरसबाट जुम्ल्याहा दिदीवहिनीको मृत्यु भएको छ । यो घटना बेलायतको हो । जुम्ल्याहा दिदी केटी र बहिनी एमाको तीन दिनको अन्तरमा मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

३७ वर्षीया उनीहरु दुवैजनाको साउथ ह्याम्पटन जनरल अस्पतालमा निधन भएको हो । बालबालिकाको नर्स रहेकी केटी डेभिसको गत मंगलबार मृत्यु भएको थियो भने उनकी जुम्ल्याहा पूर्वनर्स एमा डेभिसको शुक्रबार सबेरै मृत्यु भएको बताइएको छ ।

जुम्ल्याहा दिदीबहिनीहले “संसारमा सँगै आएको र जाँदा पनि सँगै जानेछौं” भन्दै आएको बहिनी जोलेले बताएकी छन् । उनका अनुसार सँगै बस्दै आएका जुम्ल्याहा दिदीबहिनीमा एकै किसिमको स्वास्थ्य समस्या थियो र केही समययता अस्वस्थसमेत थिए । उनीहरु कति विशेष थिए भनेर वर्णन गर्न आफूसँग शब्द नभएको उनले बताइन् ।

अरुलाई सहयोग गर्न सधैं तत्पर रहने केटी र एमाले स्वास्थ्य सेवाबाट धेरै बिरामीको सेवा गरेकी थिइन् । उनीहरु सानैदेखि बिरामीको सेवा गर्ने चाहना राख्दै आएकी थिइन् ।

योसँगै बलायतमा शनिबार विहानसम्म आउँदा १९ हजार ५ सय ६ जनाको मृत्यु भइसकेको छ, जसमा नर्सको संख्या ५० रहेको छ । त्यसेगरी हालसम्म १ लाख ४४ हजार ६ सय ३५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।