श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् : देउवा

काठमाडौं, प्रमुख कांग्रेस सभापति शेरबहादुर देउवाले लकडाउनबाट प्रभावित श्रमिक, बेरोजगार, विद्यार्थी र सबै व्यवसायीका लागि तत्काल अर्को राहतको प्याकेज ल्याउन माग गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार बालुवाटारमा भएको भेटमा सभापति देउवाले यस्तो माग गरेको भेटपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

देउवाले ओलीसँग भनेका छन्, ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्। राहत घोषणा अधुरो भयो, पुग्नुपर्नेकोमा अझै पुगेन।’

देउवाले कोरोना भाइरस परीक्षण व्यापक बनाउन, स्वास्थकर्मीलाई पीपीईलगायतका सामग्री यथाशीघ्र पु¥याउन र स्वास्थ्यकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम काम तत्काल रोक्न पनि देउवाले आग्रह गरेका छन्।

उनले विदेशमा अलपत्र नेपालीलाई उद्धार गर्न तत्काल योजना सार्वजनिक गरी कार्यान्वयनमा ल्याउन माग गरेका छन्। देउवाले भनेका थिए, ‘कोरोनाको जोखिमसँग लडिरहंदा अब विवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ।’

देउवाले दुवै अध्यादेश फिर्ता लिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै अपहरण शैलीमा सांसदलाई तराईबाट काठमाडौं ल्याउनेमाथि कारबाहीको माग गरेका छन्। उनले भनेका छन्, ‘यो माग देशभरी उठेको छ। मेरो माग पनि यही छ। देशमा कानुनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारबाही हुनुपर्छ।’