कैलालीमा निजी स्कुलका प्रिन्सिपल मृत फेला
डडेल्धुरा , कैलालीको गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्ण भुसाल मृत फेला परेका छन । गौरीगंगा–९ का ४० वर्षीय भुसाल पहलवानपुरबाट एक किलोमिटर पश्चिममा मृत फेला परेको प्रहरीले जनाएको छ।
बिहीबार राति पौने १२ बजे उनको शव पूर्व–पश्चिम राजमार्गको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। मध्यरातिमा जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको बस्नेतले बताए। मृतकको आँखा, मुख र घुडामा चोटपटक देखिएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक ज्ञानवहादुर विष्टको टोली पनि गएको डीएसपी बस्नेतले जानकारी दिए। स्थानीयका अनुसार उनी साइकलमा पहलवानपुरबाट घर तर्फ गइरहेका थिए। शरीरका धेरै ठाउँमा चोटपटक देखिएकाले हत्या नै भएको हुनसक्ने शंका प्रहरीको छ। घटनास्थल नजिकै सशस्त्र प्रहरीको पोष्ट पनि रहेको छ। घटनाबारे अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।