कुशे १ मा बाहिरबाट आएका ८ जनालाई राखियो क्वारेन्टाइनमा

जाजरकाेट, कुशे गाउँपालिका–१ को वडा समितिले जिल्ला बाहिरबाट आएका ८ जनालाई क्वारेन्टाइनमा राखेको छ ।  जिल्ला बाहिरबाट  आएका ८ जनालाई क्वारेन्टाइनमा राखेको हो ।

साथै वडा समिति र नेकपा वडा कमिटीको सहयोगमा २५ घरपरिवारलाई आधारभुत खाद्यन्न बितरण गरिएको कुशे–१ का वडा अध्यक्ष गोपालबहादुर नेपालीले जानकारी दिए ।

गाउँपालिकाबाट राहत वितरण गर्न अझै केहि समय लाग्ने भएको हुदा वडा समिति र नेकपा वडा कमिटीले तत्काल समस्या समाधानका लागि आधारभुत खाद्यन्न वितरण गर्नु परेको अध्यक्ष नेपालीको भनाई रहेको छ ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न तथा सामाजिक दुरी कायम गराउन सरकारले गरेको बन्दाबन्दी (लकडाउन) बाट दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गरिरहेका श्रमिक, टुहुरा बालबालिका, अपाङ्ग व्यक्ति र एकल महिलाहरु मर्कामा परेको अध्यक्ष नेपालीले बताए ।

गाउँपालिकाबाट राहत प्राप्त हुनु पूर्व भएको खाद्य संकटलाई आधारभुत रुपमा समाधान गर्न प्रतिपरिवारलाई १० किलो चामल, १ पोका तेल र एक पोका नुन बितरण गरिएको अध्यक्ष नेपालीले जानकारी दिए । वडा समितिका जनप्रतिनीधि र नेकपा वडा कमिटीका सदस्यहरुले स्वईच्छीक रुपमा उठाएको पैसाले उक्त चामल, नुन र तेल बितरण गर्न सफल भएको अध्यक्ष नेपालीको भनाई रहेको छ ।