कानुन मेरै हातमा सरकार मेरै हातमा छ ।

१)

बम मेरै हातमा छ तरबार मेरै हातमा छ
र यो सिङ्गो देश वारपार मेरै हातमा छ
जा छोरा गरिबका झुपडीमा आगो लगाई दे
कानुन मेरै हातमा सरकार मेरै हातमा छ ।

२)

खै किन?किन के भो अचम्म फर्किएका छैनन्
यता आँखामा आँसु छन् टम्म फर्किएका छैनन्
दुई दिनमै आउँछु भनी लासा गएका मेरा हजुर
बर्ष दिन भइसक्यो अझैसम्म फर्किएका छैनन् ।

३)

गोबर सोर्नुको पीडा अनि भारी उठाउनुको पीडा
र जिन्दगी मोलेर नै जिन्दगी चलाउनुको पीडा
रक्सी पिएर श्रीमती कुट्ने पुरुषलाई के थाहा
नौँ महिना पेटमा राखेर बच्चा जन्माउनुको पीडा ।

४)

सम्भव छँदै छैन हाम्रो मिलन भन्दा भन्दै पनि
बाटोमा कयौं छन् बाधा अड्चन भन्दा भन्दै पनि
तिमी सँगै जिउँछु मर्छु भनेर गएकी छे उसले
घरमा श्रीमती छे छोराछोरी छन् भन्दा भन्दै पनि ।

बझाङ , हाल भारत ब्याङलोर