मध्यरातमा गठित ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता

काठमाडाैँ, ‘जनता समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो । दर्ता नम्बर १३८८ छ ।

दुवै दलका अध्यक्षसहितका नेताहरु कान्तिपथस्थित आयोगको कार्यालयमा पुगेर पार्टी एकताको औपचारिक जानकारी दिएका छन् । जनता पार्टीका नेता राजेन्द्र महतोले आफूहरुले पार्टी एकताको जानकारी निर्वाचन आयोगमा गराएको र एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताए ।

बुधबार राति समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिएको हो । झण्डा समाजवादीको र चुनावचिह्न राजपाको प्रयोग गर्ने सहमति भएको छ । नेताहरुको पद बाँडफाँट गरिएको छैन ।

नवगठित पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्नका लागि राजेन्द्र श्रेष्ठ, कृष्ण शर्मा, मिथिलेस कुमार, फणिन्द्र देवकोटालगायत नेताहरु निर्वाचन आयोग पुगेका हुन् । बुधबार राति यी दुई दलले पार्टी एकता गरेर जनता समाजवादी पार्टी बनाउने सहमति गरेका थिए ।

बुधबार राति भएकाे सहमति पत्रमा राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, शरत सिंह भण्डारी र समाजवादी पार्टीबाट डा बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

एकीकृत पार्टीकाे झण्डा हाल कायम समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने सहमति भएकाे छ । चुनाव चिन्ह भने हाल कायम राजपा छाता रहने सहमति भएकाे छ ।