‘ओली अध्यादेश’ असफल पार्न रातारात समाजवादी-राजपा एकीकरण
काठमाडौं, राजनीतिक दल विभाजनका लागि बाटो खोल्ने गरी सरकारले अध्यादेश जारी गरेलगत्तै समाजवादीका असन्तुष्ट नेताहरूले पार्टी छोड्ने तयारीमा थिए । बिहीबार बिहानसम्म पार्टीबाट नेताहरू अलग्गिने सूचना पाएपछि समाजवादी र राजपाले बुधबार राति नै करिब ११ बजे एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
बुधबार राति गरिएको एकतापछि नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहेन सहमति भएको छ । त्यसैगरी झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुने सहमति पत्रमा उल्लेख छ तर चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको छाता हुनेछ ।
राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा बुधबार साँझ भएको वार्तामा भएको सहमतिमा दुवै पार्टीका चार–चार जना नेताले हस्ताक्षर गरेका छन् ।
सरकारले सोमबार मात्र पार्टी फुटाउन सहज बनाउने गरी अध्यादेश ल्याएको थियो र समाजवादी पार्टीको एउटा समूह अलग गराउन चाहेको थियो । त्यसलाई रोक्ने प्रयाससँगै दुई दलले एकता वार्तालाई टुंगोमा पुर्याएका हुन् ।
नयाँ पार्टीको अध्यक्ष को हुने भन्नेमा टुंगो लागेको छैन ।
सहमति पत्रमा समाजवादीको तर्फबाट डा. बाबुराम भट्टराई र उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले तथा राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरदसिंह भण्डारीले हस्ताक्षर गरेका छन् ।
स्रोतका अनुसार समाजवादी पार्टी फुटेपछि बाबुराम र उपेन्द्रले रातारात राजपासँग एकता गरेका छन् ।
समाजवादीकी नेतृ रेणकुमारी यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजन भएको हो । यादवसहित ८ सांसद समाजवादीबाट फुटेका हुन् । रेणु यादव, मोहम्मद ईस्तियाक राइन,सुरेन्द्र यादव, बिमल श्रीवास्तव,प्रदिप यादव, उमाशंकर अरगरिया, कलुदेवी विश्वकर्मा र रेणुका गुरुङ रहेका छन् ।
यस्तो छ सहमति पत्र