क्‍वारेन्टाइनमै रक्सी खाएर श्रीमती कुटेपछि..

गुल्मी ,गुल्मीमा क्‍वारेन्टाइनमै मदिराको धन्दा भइरहेको खुलेको छ। जिल्लाको इश्मा गाउँपालिका २ को पालुखा माध्यमिक विद्यालयमा क्‍वारेन्टाइनमा बसेका व्यक्तिलाई नजिकैका पसल सञ्चालक तारा खत्रीले क्‍वारेन्टाइनमा बसेकालाई मदिरा पुर्‍याइदिने गरेकी गाउँपालिका उपाध्यक्ष विमला खत्रीले जानकारी दिइन्।

खत्रीका अनुसार क्‍वारेन्टाइनमा बसेका अमरपुरका २४ वर्षीय गोपाल गिरीलाई खत्रीले मदिरा दिने गरेकी थिइन्। साथै गिरीले मदिरा सेवन गरी आफूसँगै बसेकी श्रीमती २० वर्षीया पुष्पालाई कुटपिट गरेका थिए। मदिरा सेवन गरी श्रीमानले आफूलाई बारम्बार तनाब दिने गरेका पनि पुष्पाले बताइन्।

मदिरा बेच्ने खत्रीलाई गाउँपालिकाको नियमअनुसार पाँच हजार जरिवाना तिराइएको इश्मा प्रहरी चौकीले जनाएको छ। उनलाई तत्काल चेतावनीसहित जरिवाना तिराइएको भए अन्य कारबाही भने नभएको उपाध्यक्ष खत्रीले बताइन्।