जुनीचाँदे वडा नं २ का अध्यक्ष नेपालीमाथि निर्घात कुटपिट

जाजरकाेट, जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई कुटपिट गरिएको छ । गत निर्वाचनमा वडाअध्यक्षमा पराजय भएका जयबहादुर नाथ सहितको टोलीले अध्यक्ष नेपालीलाई मंगलबार कुटपिट गरेको बताइएकाे हाे  ।

वडा कार्यालयमा काम गरिरहेको अबस्थामा जयबहादुर नाथ, बिर्षबहादुर नाथ, महेन्द्र नाथ, सुरेन्द्र नाथ, धनबहादुर नाथ, नरबहादुर नाथ सहित आएको टोलीले अध्यक्ष नेपालीलाई कार्यकक्षमै कुटपिट गरेको प्रत्यक्षदर्शी कर्णबहादुर सिंहलाई उदृत गर्दै खड्कनाथ योगीले जानकारी दिए ।

अध्यक्ष नेपालीसंग जयबहादुर नाथको कुनैपनि व्यक्तिगत लिनदिन नभएको बताउदै गत निर्वाचनमा चुनाब हारेको झोक बाहेक अरु केही पनि नभएको योगीले बताए । योगीले दिएको जानकारी अनुसार वडाअध्यक्ष नेपालीको टाउँकोमा चारवटा घाँउ लागेका छन् भने, छातीमा चोट लागेको छ ।

कुटाईबाट बेहोस भएका अध्यक्ष नेपालीको अहिलेसम्म होस खुल्न सकेको छैन । उक्त समुहले कुटपिट गरेर वडा अध्यक्ष नेपालीलाई घाईते बनाउनुको साथै वडा कार्यालय सामानहरु तोडफोड गरेको योगीले बताए । घाईते अध्यक्ष नेपालीलाई उपचारको लागि अस्पताल लैजानको लागि अहिलेसम्म गाडीको व्यवस्था गर्न सकिएको छैन ।

वडा अध्यक्ष नेपालीलाई कुटपिट गर्ने जयबहादुर नाथ सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी नायव उपरिक्षक किशोर श्रेष्ठले जानकारी दिएका छन् । कुटपिट कार्यमा संलग्न ७ जनालाई पक्राउगरी प्रहरीले जिल्ला प्रहरी कार्यालयतर्फ ल्याउदै गरेको जानकारी दिदै जिल्ला प्रहरी प्रमुख श्रेष्ठले अहिले बाटोमै भएपनि खलंगा पुर्याएपछि आबश्यक अनुसन्धान पुरा गरेर बिस्तृत जानकारी दिने बताएका छन् ।

वडाअध्यक्ष रामबहादुर नेपालीले पूर्व नेकपा एमाले पार्टीबाट टिकट लिएर चुनाव जितेका थिए भने, जयबहादुर नाथले नेपाली कांग्रेस पार्टीबाट टिकट लिएर वडाअध्यक्ष पदमा चुनाव लडेका थिए । अध्यक्ष नेपाली जुनीचाँदे गाउँपालिकाका प्रवक्ता पनि हुन् ।