अस्थिपन्जर
प्रकासित मिति : २०७७ बैशाख १०, बुधबार ०८:३३
प्रकासित समय : ०८:३३
गुनासो छैन – मलाई कोमल हातहरूले छोएर जाने बताससंग
गुनासो छैन – मलाई उज्यालो बनेर झुक्याउने जूनकिरीसंग
गुनासो छैन -जिवनको एकअंश बनेर घामपानीमा देखिदै बिलाउने त्यो रंगिन इन्देणीसंग
म रंगबिहीन अस्थिपन्जर ।
कसैले मलाई फूल भने
कसैले मलाई काँडा भने
कसैले मलाई पात भने
कसैले मलाई हाँगा भने
कसैले मलाई जरा भने ।
तर
म त्यो रुख थिएँ
फूल फुल्न डाली बनेँ
पात पलाउन हाँगा बनेँ
फूल जोगाउन काँडा बनेँ
जीवन दिन जरा बनेँ
मुस्कुराउन प्रेम बनें ।
कहिल्यै गुनासो गरिन मलाई चुडेर भुइँमा दर्फर्याउनेहरूसंग
कहिल्यै गुनासो गरिन जरै देखि बिष पिलाउनेहरूसंग
फूल बनेर रंग भर्न नसकेको
म रंग बिहिन अस्थिपन्जर ।
म प्रेम गर्छु, गरिरहन्छु
मुस्कुराउने हरेक ओठहरूका मुस्कानसंग
उज्यालो बनेर दिनका रेखा कोर्ने ती हातका किरणहरूसंग …।