रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारीमा
काठमाडौं, दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्।
त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ। उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका उपाध्यक्ष रेणुकुमारी यादव र सचिव मोहम्मद इस्तियाक राईले नेतृत्व गरेको समूहले छुट्टै पार्टी खोल्ने तयारी गरेको उच्चस्रोतले बतायो।
उपाध्यक्ष यादव लामो समयदेखि पार्टी अध्यक्ष उपेन्द्र यादवसँग असन्तुष्ट रहँदै आएकी छन्। पार्टीको प्रदेश २ अधिवेशनमा प्रदेश अध्यक्षमा प्रत्यासी रहेकी यादव विजय यादवसँग पराजित भएपछि आफूलाई नेतृत्वले हराएको भन्दै असन्तुष्ट रहँदै आएकी थिइन्। यो असन्तुष्टि कतिसम्म थियो भने उपेन्द्र यादव करीब दुई वर्ष उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री हुँदा एकपल्ट पनि मन्त्रालयमा गएकी थिइनन्।
यादव र पूर्व शहरी विकासमन्त्री इस्तियाक राईसँगै पर्साबाट निर्वाचित सांसद प्रदीप यादव, पर्साकै विमल श्रीवास्तव, जनकपुरका उमाशंकर अरगरिया, कैलालीकी कलुदेवी विश्वकर्मा र झापाकी रेणुका गुरूंग नयाँ पार्टीमा जानेगरी तयारी भएको स्रोतले बतायो। उनीहरू सबैजना अहिले काठमाडौंमा रहेको र आज पनि भेला गरेर छलफल गरेको स्रोतले बतायो।
प्रतिनिधि सभामा समाजवादी पार्टीका १७ सांसद रहेकोमा हरिनारायण रौनियार निलम्बनमा परेपछि १६ जना छन्। राष्ट्रिय सभामा एकजनासमेत जोड्दा संघीय संसदमा समाजवादीका १७ सांसद छन्। यसमध्ये पार्टी विभाजनका लागि ४० प्रतिशत पुर्याउन ७ जना सांसद आवश्यक पर्छ। यो समुहमा ८ जना पुगिसकेको र रूही नाज पनि त्यसमा समेटिन सक्ने यो समूहका एक सांसदले बताए।
८ सांसदको हस्ताक्षर तयार
रेणु यादव नेतत्वमा ८ सांसदले पार्टी फुटाउन लागेका हुन् । विश्वस्त स्रोतका अनुसार पार्टी फुटाएर नयाँ दल दर्ता गर्न ८ सांसदको हस्ताक्षर तयार भइसकेको छ ।
फुटाउने हस्ताक्षर गर्ने सांसदहरुमा रेणु यादवसहित विमलप्रसाद श्रीवास्तव, मोहम्मद इस्तियाक राइ, रुही नाज, कुलदेवी विश्वकर्मा लगायत रहेको स्रोतले जानकारी दियो । उनीहरुले हस्ताक्षरसहित नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा जाने तयारी गरिसकेका छन् ।