चीनबाट स्वास्थ्य सामग्री ल्याउन सेनाले गर्‍यो २ अर्बको सम्झौता

काठमाडौँ, नेपाली सेनाले जि–टु–जी प्रक्रियामार्फत चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण ल्याउन सवा २ अर्ब रुपैयाँ बढीको सम्झौता गरेको छ । सेनाले १ करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर अर्थात २ अर्ब २५ करोडको सम्झौता गरेको हो ।

सम्झौताअनुरुप चीनबाट ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याइने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता विज्ञानदेव पाण्डेकाअनुसार चीनबाट पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, एन–९५ मास्कलगायतका स्वास्थ्य सामग्री ३ सय ४२ टन ल्याइनेछ ।

एकैपटक सम्भव नहुने भएकाले विभिन्न चरणमा स्वास्थ्य सामग्री तथा उपकरण ल्याइने पाण्डेले बताए । उनले भने, ‘सातदेखि दस दिनमा पहिलो चरणको सामाग्री आइपुग्छ ।’ स्वास्थ्य सामग्री खरिदका लागि आइतबार नेपाली सेनाले अन्तिम सम्झौता गरेको थियो । स्वास्थ्य सामाग्री हवाई र स्थलमार्गबाट ल्याइनेछ ।

ओम्नी विजनेश कर्पोरेसन इन्टरनेश्नलसँग भएको सम्झौता विवादमा आएपछि सरकारले चैत १६ मा स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिएको थियो ।