कार्यकर्ता

निर्वाचनको समय नजिकै आइसक्दा समेत आफुले उम्मेद्वारी पाउने नपाउने भन्ने कुराको निक्र्यौल नहुँदा नेता आनन्दरामले पार्टीमा बबाल मच्चाउन थाल्यो । आफूले टिकट पाए पार्टी भित्रका युवा पुस्ताको सम्मान हुने , पार्टी अझै सुदृढ र लोकप्रिय हुने जस्ता तर्कहरु अघि सारेर आफूलाई उम्मेदवार बनाउन नेतृत्व समक्ष दवाव दिइरहेको थियो ।

उसको अनुरोधजन्य दवावले पटक्कै काम नगरेपछि आफ्नो पार्टीबाट निर्वाचन क्षेत्रमा खडा हुने आधिकारिक उम्मेदवारलाई हराईदिने भनेर उसले अलि धम्कीपूर्ण दवाव पनि दिन थालेको थियो ।

यतिले पनि सकारात्मक परिणाम आएन । अव उ षड्यन्त्रको तरवार बोकेर जिल्ला र केन्द्र धाइरहेको थियो ।उसको मनमा बेचैनीको हुरी चल्न थालेको थियो । अनि उ अन्तिममा पार्टीलाई ठूलै रकम चन्दा दिने आशयको अन्तिम अश्त्र बोकेर पार्टी नेतृत्व कहाँपुग्यो । उसको कुरा सुनिसकेपछि पार्टी अध्यक्ष मुसुक्क हाँसे र आनन्दरामको काँधमा धाप मार्दै साउतीको स्वरमा भने, “ कति ढिलो कुरा बुझेको तपाईंले ? तर केही छैन । म मिलाउँला ।”

यताउता हेरेर फेरि भने, “ कहिले सम्म हुन्छ नि व्यवस्था ?”
अध्यक्षको आशय बुझेपछि उ निकै नै उत्साहित भयो । उसले कृतज्ञ नेत्रले अध्यक्षलाई हेर्दै भन्यो, “ व्यवस्था भैसकेको छ अध्यक्षज्यू !अहिल्यै टक्र्याउं कि ! टिकट चाहीं पक्का हुनुपर्छ नि !”

यति भनेर उ निकैबेर हाँस्यो । आफ्नो गाडीमा रहेको ब्रिफकेस लिएर आउनू भनेर उसले मोबाइलमा कसैलाई आदेशपूर्वक भनेपछि उ र अध्यक्ष बैठक कोठाबाट भित्री गुप्ती कोठामा पसे । केहीबेरमा हातमा ब्रिफकेस बोकेको ,आँखामा कालो चश्मा र शीरमा छत्रे टोपी लगाएको अधबैंसे पुरुष बैठकमा आइपुग्यो । अध्यक्षको निजी सहायकले उसको हातबाट ब्रिफकेस लियो र आगन्तुकलाई बाहिरै फर्काइदियो । अव ब्रिफकेस पनि गुप्ती कोठामै आइपुग्यो ।

अध्यक्षसंगको गोप्य भेटघाटपछि उ बाहिरियो र सडकमा आयो । उसैलाई पर्खिरहेको जीपमा आसन जमायो र सिधै आफ्नो निर्वाचन क्षेत्रतिर रमाना भयो । यतिखेर उ जीपको कुर्सीमा बसेर संसदको कुर्सीमा बसेको सपना देख्नथालेको थियो । मनभरि उठेको सन्तुष्टीको लहरमा लहरिंदै उ जिल्ला आइपुग्यो ।

आनन्दरामले रोजेकै संसदीय निर्वाचन क्षेत्रबाट टिकट पाएपछि उ भन्दा पुराना , लोकप्रिय र जुझारु नेताहरु आश्चर्यचकित भएका थिए । उनीहरु निराश पनि देखिए ! चोक चोकका चिया पसल , भट्टी चारैतिर उसैको चर्चा थियो ।
“ होइन , कसरी पायो हँ आनन्दरामले सांसदको टिकट ?”

उ भन्दा पुराना , जनतामा भिजेका लोकप्रिय नेताले अवसर नै पाएनन् । पार्टीका अध्यक्ष र केन्द्रीय नेताहरुसंग नजिक मानिएकाले समेत उम्मेद्वारी नपाएको अवस्थाले कार्यकर्ताहरु निराश थिए । उ परिचित नेता थिएन । उ जनतामा लोकप्रिय पनि थिएन । गाउँका मानिसहरुले उसलाई केही समयअघि सम्मको काठ तस्करका रुपमा बुझेका थिए । उ आफ्नै पार्टीका कार्यकर्तासंग पनि नजिक थिएन ।

चुनावको दिन नजिकिएपछि उसले दश बाह्रवटा जीप भाडामा लियो र बीस पच्चीस जना जति मुन्द्रे र जगल्टेहरु जम्मा पारेर चुनाव प्रचारप्रसार अभियानमा लागेको थियो । अव जीपमा बसेर मुन्द्रेहरुले उसको प्रचार गर्न थाले । एउटा झ्याप्ले चिच्च्यायो ,” भोट कसलाई ?”
अन्य मुन्द्रेहरुको कोरस स्वर गुन्जियो , “ आनन्दरामलाई !”

मुन्द्रेहरुका गाडी गाउँमा कुइरीमण्डल धुलो उडाउंदै यता र उता दौडिरहेका हुन्थे । ती गाडीमा बज्ने हिन्दी गीत र कर्कसध्वनी सुनेर गाउँलेहरुले कान थुन्न थालेका थिए ।

चुनाव प्रचार प्रसारमा खटिएका कार्यकर्ताहरुलाई आनन्दरामले जीप भित्रै कुखुराका साँप्रा टोक्ने र बियरको बिर्को खोल्ने सुबिधा उपलभ्द गराउंदै आएको थियो। यस्तो सुबिधाले गर्दा जिल्लाभरिका मुन्द्रे र झ्याप्लेहरु उसका खाँटी कार्यकर्ता बनिसकेका थिए । मात्तिएको स्वरमा उनीहरु जिन्दावाद र मुर्दावादका नारा लगाउँथे अनि घरिघरि आफ्नो नेताको गुणगानमा समय खर्चन्थे ।

उसको चुनाव प्रचार अभियान देखेर अरु उम्मेदवारहरु एकातिर खुसी भैरहेका थिए भने अर्कातिर ससंकित पनि थिए । खुसी यस हिसावले कि उनीहरु जनताको मन जितेर घरघर भोट मागेर हिंडेका थिएनन् । सडकमा धुलो उडाएर जनतालाई आतंकित बनाउँदै बियरको मातमा मुन्द्रेहरुले जीपको छतबाट चिच्च्याएर भोट माग्दैमा भोट पाइन्न भन्नेमा बिपक्षीहरु ढुक्क थिए । आफ्नो प्रचारप्रसारमा मुन्द्रेहरुको अभावले भने उनीहरुलाई खल्लो बनाएको थियो ।

बियर र कुखुराको साँप्रा छोडेर कुन मुन्द्रे जाओस्विपक्षीको चुनावी प्रचारमा ? आनन्दरामसंग तस्करी गरेर कमाएको अकूत धन थियो । त्यसैले जिल्लाभरिका मुन्द्रे र आवाराहरु उसका यार भए ।

चुनाव अझ नजिकियो । मुन्द्रेहरु अझै बढे । जीपहरु अझै थपिए । लाउडस्पिकरहरु पनि अझै थपिए । उसले मुन्द्रे कार्यकर्ताहरुको खान्की र पकेटखर्च पनि बढाईदियो । कार्यकर्ताको मनोबल बढेकाले उनीहरुले अझै जोडजोडले आनन्दरामको जयगान गर्न थाले । उसको निर्वाचन क्षेत्र निकै गुन्जायमान भैरहेको थियो । जीपको छतमा राखिएका माइकहरुले एउटा कुरा सधैं भन्ने गर्थे ।

“ आनन्दराम जिन्दावाद !! आनन्दरामलाई भोट दिनुस्!!”
माइकहरुले आनन्दरामलाई भोट दिनुस्त भन्थे तर भोट किन दिनु पर्ने हो त्यो चाहीं भन्दैनथे । तर पनि जनताले आफूलाई भोट दिएर जिताउनेमा उ ढुक्क थियो ।
अव मतदानको दिन आउन तीन दिन मात्र बाँकी थियो । अव उस्का जीपहरु दगुर्न छाडे । माइकहरु बन्द भए । निर्वाचन आचारसंहिताले रातो बत्ती बालिसकेको थियो ।
उसले मुन्द्रेहरुलाई सोध्यो , “ के छ केटा हो चुनावी हालखवर ? जितिन्छ नि ?”
मुन्द्रेहरुले बस्तुस्थिति बताए , “ मज्जाले जितिन्छ । हाम्रो प्रतिस्पर्धामा आउन सक्ने उम्मेदवार कोही छैन दाइ । बिपक्षी पार्टीका उम्मेदवार रघुबीर पनि हामी भन्दा धेरैपछि छन्”उनीहरुले फेरि थपे , “ अलिअलि पैसा पनि बाँड्नु पर्ला दाइ ।”

मुन्द्रेहरुका हात हातमा लाख लाखका थाकहरु थपिंदै गए । अव टोलटोलमा खसी, राँगा, बंगुर , कुखुरा काटिन थाले । चोलो , सारी बाँडिए । सर्ट , पाइन्ट बाँडिए । यी सबैमा आनन्दरामको नाम जोडिएकै थियो । उ दिउंसोको सट्टा रातिराति प्रचारप्रसारमा हिंिडरहेको थियो । उसका कार्यकर्ताहरुले जनताहरुलाई आश्वासनको चेक र नगद बाँडेर प्रलोभनको खोरमा थुन्ने प्रयास गरिरहेका थिए ।

देशैभरि चुनाव भयो । उसको निर्वाचन क्षेत्रमा उत्साहपूर्वक मत खस्यो । झन्डै त्रियासी प्रतिशत । उ खुसीले यताउता दगुरिरहेको थियो । विजयको माला लाउन उ ब्यग्र भएर पर्खिरह्यो ।

मतगणना पनि शुरु भयो । आनन्दराम नतिजाको पर्खाईमा छटपटाइ रहेको थियो । मुन्द्रेहरुका हात हातमा रहेका माला र अविरतिर उसको ध्यान थियो । उ कतिखेर मुन्द्रेहरुले आफूलाई बधाई दिंदै अविर र माला लगाइदेलान् भनेर रोमान्चक पनि भैरहेको थियो । मुन्द्रेहरु भने अविर र माला आफ्ना काखमा राखेर कुखुराका फिला टोक्दै थिए ।

मतगणनाको नतिजा आयो ।
बियरको मातमा एउटा मुन्द्रे करायो , “ यो जीत कसको ?”
मुन्द्रेहरुको लर्बरिएको कोरस स्वर गुन्जियो , “ रघुबीरको !”

मत परिणाम आइसकेछ । उसले भन्दा पहिले त मुन्द्रेहरूले थाहा पाइसकेछन्।् । उनीहरु त अविर र माला बोकेर रघुबीरतर्फ दौडिए । आनन्दराम एकटकले हेरिरहेको थियो तर केही बुझ्न सकिरहेको थिएन ।

मुन्द्रेहरु रघुबीरलाई काँधमा बोकेर जयकारको ध्वनी निकालेर बिजय जुलुसमा सामेल भैसकेका थिए ।तर अफसोच ! आनन्दरामको आँशु पुछिदिन र उसको दुखमा साथ दिन उसको परिवार बाहेक एउटा मुन्द्रे पनि बाँकी थिएन ।
बागमती ११ , कर्मैया , सर्लाही