नेकपा सचिवालय बैठक सकियो, बैठक सकेर शितल निवास पुगे प्रधानमन्त्री
काठमाडौँ , नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ । मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो ।
बैठकमा विभिन्न कोणबाट छलफल भएको र ठूलो रुपमा नलिन प्रधानमन्त्रीले आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोमबार मन्त्रिपरिषद बैठकले गरेको निर्णयका बारेमा छलफल गर्न सचिवालय बैठक बोलाइएको थियो।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे निर्णय गरेको थियो। मन्त्रिपरिषद्को उक्त प्रस्ताव बालुवाटारमा सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति विद्यादेवी भण्डारी जारी गरेकी छन्।
उक्त अध्यादेशले नेकपामा ठूलै हलचल ल्याएपछि सचिवालय बैठक बोलाईएको थियो। सचिवालय बैठकमा संवैधानिक परिषद्को नियुक्तिहरु अड्किएको र अरु पनि त्यस्तै विषय भएकाले यसलाई ठूलो रुपमा लिनु हुँदैन भन्ने ब्रिफिङ प्रधानमन्त्रीले गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार अध्यादेशबारे अन्य कोणबाट पनि गम्भीर छलफल भएको बताए।सरकारले आज जारी गरेको अध्यादेशबारे बैठकमा प्रधानमन्त्रीले औचित्य पुष्टि गर्ने कोशिस गरेका थिए । त्यो अध्यादेशको विषय गम्भीर राजनीतिक महत्व भएकाले जारी हुनपूर्व पार्टीमा छलफल नभएकाले बैठक बसेको प्रवक्ता श्रेष्ठले बताए ।
बैठकमा सचिवालयका सबै सदस्यले गम्भीरतापूर्वक आफ्ना विचार राखेको र महत्वका साथ छलफल भएको श्रेष्ठले बताए । यस्तै बैठकले यस्ता महत्वपूर्ण निर्णय गर्नुपूर्व पार्टीमा छलफल गर्नुपर्ने निष्कर्श निकालेको पनि उनले बताए ।
बैठक सकिए लगतै ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका छन् ।