नेपालबाट रुसले लग्यो आफ्ना ११० नागरिक
काठमाडौं, रुसले लफडाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई स्वदेश लगेको छ । आज दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा चार्टर्ड उडान भएको हो ।
दूतावासले आफ्ना १ सय ४३ नागरिक लैजान विमान चार्टर्ड गर्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो । दूतावासले पत्र पठाएर चार्टर्ड विमानको अनुमति मागेको र आज दिउँसो रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ मार्फत आफ्ना नागरिक लगेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बाह्रखरीलाई जानकारी दिए ।
१ सय ४३ यात्रु लैजाने भनिए पनि १ सय १० जना मात्र उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १ सय १० यात्रु लिएर रुसको उक्त विमान प्रस्थान गरेको जानकारी दियो । यसअघि पनि नेपालस्थित अमेरिका, बेलायत, अस्ट्रेलिया, जर्मन, फ्रान्सलगायत विभिन्न दूतावासले आफ्ना नागरिकलाई विमान चार्टर्ड गरी लगिसकेका छन् ।