प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक सचिवालय बैठक
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साढे पाँच बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाएका हुन् ।
सोमबार मन्त्रिपरिषद्बाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय भएपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
मन्त्रिपरिषदबाट पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा ४० प्रतिशत भए पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय भएको छ ।
अहिले पार्टी विभाजन गर्न संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था छ । नेकपामा पार्टी अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच खटपट चलिरहेका बेला मन्त्रिपरिषद्को यो निर्णयले कोरोना कहरकाबीच राजनीतिक वृत्त तताएको छ ।